काठमाडौंमा चटपटे, पानीपुरी र खुला दुध बिक्रीमा प्रतिबन्ध लगाउने तयारी

काठमाडौं । काठमाडौं महानगरपालिकाले बर्खायामभरि पानीपुरी, चटपटे लगायत खुला रुपमा बेचिने खानेकुराहरु बेच्न प्रतिबन्ध लगाउने तयारी गरेको छ ।

अनुगमन समितिको आइतबार बसेको बैठकमा यसबारे छलफल भएको महानगरका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले जानकारी दिए ।

पानीपुरी, चटपटेजस्ता खानेकुराले हैजालगायत रोग छिट्टै सर्ने भएकोले निश्चित अवधिका लागि बेचबिखनमा रोक लगाउने तयारी भएको उनले बताए ।

खुला दूध प्लास्टिकमा हालेर रबरले बाँधेर बेच्ने काम मापदण्ड विपरीत भएकोले यसलाई पनि तत्काल रोक लगाउनुपर्ने उनले बताए ।

बर्खायाममा पानीसँगै फैलिने संक्रामक रोग फैलिन नदिन अनुगमनलाई कडाइ गरिने उपप्रमुख सुनिता डंगोलले जानकारी दिइन् । जसका लागि महानगरले बजार अनुगमनका लागि तत्काल टोली परिचालन गर्ने उनको भनाइ छ । उनले अनुगमन गरेर सचेत गराएर सुधारको मौका दिँदा पनि सुधार नगर्नेलाई कानुनी र प्रशासनिक कारवाहीको दायरामा ल्याउने बताएकी छिन् ।

यस्तै काठमाडौं महानगरले पानीको जार कुच्चिएका, लेउ लागेका, टुटेफुटेका जारमा पानी बेच्न नपाइने मापदण्ड विपरीत जार जफत र नष्ट गनै अभियानलाई निरन्तरता दिने भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर