३ नेपाली चलचित्र एकसाथ प्रदर्शनमा

काठमाडौं । शुक्रबारदेखि हलमा ३ वटा नेपाली चलचित्र एकसाथ प्रदर्शनमा आएका छन्।

नयाँ वर्षको दिन चलचित्र क्षेत्र ३ नेपाली चलचित्रको महाभिडन्तबाट सुरुवात भएको हो । यो रोचक भिडन्तमा ‘जारी’, ‘बुलाकी’ र ‘बिहे पास’ छन् । शुक्रबार र शनिबारको बिदामा चलचित्रले राम्रो व्यापार गर्ने अपेक्षा गर्दै यी चलचित्र रिलिज भएका हुन् ।

अभिनेता दयाहाङ राईले शुक्रबार आफ्नै चलचित्रसँग भिडेका छन् । किनकी दया अभिनित चलचित्र ‘जारी’ र ‘बिहे पास’ एकसाथ हलमा लगेको छ । शुक्रबारबाट रिलिज भएका ३ चलचित्र मध्ये ‘जारी’ को बुकिङ आक्रामक देखिएको छ । यो चलचित्रलाई मल्टिप्लेक्सहरुले उच्च शो प्रदान गरेका छन् ।

प्रवेश पौडेलको निर्देशनमा तयार भएको चलचित्र ‘बिहे पास’ मा दयाहाङ राई र प्रकृति श्रेष्ठको मुख्य भूमिका रहेको छ । दयाहाङ र प्रकृतिले पहिलो पटक एकसाथ काम गरेका हुन् ।

चलचित्रमा दयाहाङ र प्रकृतिसँगै श्याम राई, विशाल पहाडी, सुवास गजुरेल, हिउँवाला गौतम, रुषा न्यौपाने, नविन शेरचन, उमा बानियाँ र प्रकाश भुजेलको अभिनय रहेको छ । चलचित्र सरकारी अधिकृत पत्नी, सरकारी जागिर पाउन प्रयत्नरत पति र पारिवारिक तनावको बारेमा निर्माण भएको छ ।

त्यसैगरी दयाको अर्को चलचित्र ‘जारी’ उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन तयार भएको छ । चलचित्रमा दयासँगै मिरुना मगर, रोयदीप श्रेष्ठ, रेखा लिम्बु, प्रेम सुब्बा, विजय बराल, अनिल सुब्बा, पुष्कर गुरुङ र कमलमणि नेपाल लगाययतको अभिनय रहेको छ । चलचित्र लिम्बु समुदायमा विद्यमान जारी प्रथा र त्यसको सामाजिक आयामको कथा वस्तुमाथि निर्माण भएको छ ।

त्यस्तै, चलचित्र ‘बुलाकी’ लाई टोपेन्द्र विष्टले निर्माण गरेका हुन् । चलचित्रमा सुरक्षा पन्तको साथमा अभिनेताद्वय नरेन खड्का र विराज विष्टको मुख्य भूमिका रहेका छन् । कर्णालीको ग्रामीण जीवन, रीतिरिवाज, जारी प्रथा तथा परिवार र सम्बन्धमा आउने उतारचढावलाई चलचित्रमा मुख्य कथा बनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर