मनसुनी वायुको प्रभाव : दिनभरजसो झरी हुने

काठमाडौं । आज पश्चिमी क्षेत्रमा आरीघोप्टे वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । आज कर्णाली, सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा आरीघोप्टे पानी पर्ने अनुमान रहेको मौसमविद् वरुण पौडेलले जानकारी दिए । आरीले पानी खन्याएझैँ गरी हुने वर्षालाई आरीघोप्टे वर्षा भन्ने गरिएको छ । यस्तै, देशका पूर्वी क्षेत्रमा पनि ठूलो वर्षाको सम्भावना छ । आज र भोलि देशका धेरैजसो ठाउँमा लगातारजसो पानी पर्ने मौसमविद् पौडेलले जानकारी दिनुभयो ।

काठमाडौं उपत्यकासहित केही ठाउँमा आज दिउँसो दुई–तीन घण्टा लगातार झरी पर्ने सम्भावना रहेको पौडेलले जानकारी दिए । आज राति कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई ठाउँमा अति ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद्का अनुसार अन्य क्षेत्रमा भने हल्कादेखि मध्यम वर्षाको अनुमान रहेको छ । मनसुनको न्यून चापीय रेखा नेपाल नजिकै रहेकाले मनसुन सक्रिय हुँदा हिजोदेखि देशभर पानी परिरहेको छ । देशभर नै पानी परिरहेकाले बाढी पहिरोसँगै डुबानको जोखिम रहेकाले सावधानी अपनाउन मौसमविद्को आग्रह छ ।

बागमती जलाधारको सिन्धुली, मरिन कुशुनटार र आसपासमा ठूलो पानी

बागमती जलाधारको सिन्धुली, मरिन कुशुनटार र आसपासमा ठूलो पानी परेको छ । ती क्षेत्रको कोखाजोर खोला, मरिन खोला र आसपासका स–साना खोलामा आकस्मिक बाढीको जोखिम रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

त्यस्तै, गएराति काठमाडौं उपत्यकासहित देशका धेरैजसो ठाउँमा पानी परेको छ । सुनसरीको धरान र आसपासका क्षेत्रमा ठूलो पानी परेको छ । मौसम पूर्वानुमान् महाशाखाले भोलि सोमवारसम्म नै देशका विभिन्न भागमा पानी पर्ने सम्भावना रहेको जनाएको छ । बाढीरपहिरो र भेलपहिरोको जोखिम हुन सक्ने भन्दै सतर्क रहन पनि आग्रह गरिएको छ । त्यस्तै, आज र भोलि बागमतीसहित नारायणी, कर्णाली, राप्ती, बबई, महाकाली नदी र सहायक नदीहरुको जलसतह सतर्कता आसपास पुग्न सक्ने अनुमान छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर