यज्ञमती र चखुँचाखोलालाई पुरानो अस्तित्वमा फर्काइने

काठमाडौं । दुई वटा ह्युमपाइपभित्र सीमित गरिएका यज्ञमती र चखुँचाखोलाको उत्खनन सुरु गरिएको छ । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका र काठमाडौं महानगरपालिकाभित्र बग्ने यज्ञमती र चखुँचाखोलाको उत्खनन शुक्रबारदेखि सुरु गरिएको हो ।

काठमाडौैं महानगरपालिका र बूढानीलकण्ठ नगरपालिकाबीच तीनबुँदे सहमति भएपछि खोला उत्खनन थालिएको हो । धोबीखोलातर्फबाट चखुँचाखोला खोल्न सुरु गरिएको छ । काठमाडौं महानगरपालिकाले दुई वटा डोजर प्रयोग गरी खोला उत्खनन सुरु गरेको छ । यससँगै कपन क्षेत्रमा हुने डुबान र मानवीय असर कम हुने भएको छ ।

काठमाडौं महानगरपालिका–७ का वडाध्यक्ष विमलकुमार होडाका अनुसार शुक्रबार साँझसम्ममा झन्डै पाँच सय मिटर खोला खोलिएको छ । काठमाडौं महानगरपालिका–६ र बूढानीलकण्ठ नगरपालिका–१०, ११ र १२ को पानीको स्रोत यज्ञमती र चखुँचाखोलालाई ढलमा परिणत गरिएको थियो । जगडोल पार्कको देब्रेतर्फबाट बग्ने यज्ञमती खोला घुमेर कपन आनीगुम्बा हुँदै कपन प्रहरी चौकी, आरम्भचोकमा अर्को खहरेसँग मिल्छ । त्यसपछि चखुँचाखोला सुरु हुन्छ । चखुँचाखोला आरम्भचोक, मिलनचोक हुँदै धोबीखोलामा गएर मिसिन्छ ।

काठमाडौं महानगरपालिकाको टोली बिहीबारै खोला खोल्न पुगे पनि बूढानीलकण्ठ नगरपालिकाका जनप्रतिनिधिले असहमतिका कारण रोकिएको थियो । तर शुक्रबार काठमाडौं महानगरपालिका–६ का अध्यक्ष भुवन लामा, वडा नम्बर–७ का अध्यक्ष विमलकुमार होडा, बूढानीलकण्ठ नगरपालिका–१० का अध्यक्ष नवराज भट्टराई र वडा नं. १२ का अध्यक्ष शम्भुप्रसाद भट्टराईबीच तीनबुँदे सहमति भएपछि यज्ञमती र चखुँचाखोलाको अस्तित्व कायम हुने भएको हो । चार जनाको हस्ताक्षर भएको सहमतिपत्रमा धोबीखोलादेखि साततलेसम्मको बूढानीलकण्ठ–१० र काठमाडौं–७ को सीमा भागमा नापजाँच भई पर्खाल लगाएकाले उक्त भागको सतहमा खोलामा राखिएको ह्युमपाइप निकाल्ने उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर