संस्कृत विश्वविद्यालयमा लगाइएको ताला खुल्यो

काठमाडौं । नेपाल संस्कृत विश्वविद्यालयमा लगाइएको ताला ५५ दिनपछि खुलेको छ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) केन्द्रीय आयुर्वेद विद्यापीठले केन्द्रीय कार्यालयमा गएको असार ३ गते लगाएको ताला ५५ दिनपछि आज शुक्रबारबाट खुलेको हो ।

विश्वविद्यालयका उपकुलपति प्राडा यादवप्रकाश लामिछाने, शिक्षाध्यक्ष प्राडा भीम खतिवडा, कुलसचिव सहप्राध्यापक माधव अधिकारीसहित कर्मचारीको उपस्थितिमा ताला खुलेको हो । इन्टर्नसीप भत्ता वृद्धिको माग गर्दै ताला लगाएको स्ववियुले आफ्ना माग पूरा भएको जनाउँदै ताला खोलेको जनाएको छ ।

विश्वविद्यालयद्वारा गठित वार्ता टोलीका संयोजक आयुर्वेद अध्ययन संस्थानका डिन प्राडा चन्द्रप्रसाद भुसालको अध्यक्षतामा भएको वार्ताले विश्वविद्यालयको अधिकृतस्तरको सुरुवाती तलबको ५० प्रतिशतबराबरको इन्टर्नसीप भत्ता प्रदान गर्ने सहमति भएको विश्वविद्यालयको वार्ता टोलीका सदस्यसचिव अनिल पोख्रेलले जानकारी दिए । उनका अनुसार यो निर्णय २०८० साउनदेखि लागू हुनेछ ।

यस्तै नेपाल संस्कृत विश्वविद्यालय सेवा आयोगमा नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) दाङले गएको असार ९ गते लगाएको ताला अझै खुल्न सकेको छैन । ताला नखुल्दा विश्वविद्यालयले सञ्चालन गर्ने कर्मचारी, उपप्राध्यापक, सहप्राध्यापकको परीक्षा अनिश्चित हुँदा एक हजारभन्दा बढी परीक्षार्थी मर्कामा परेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर