विधेयक सच्चिने भएपछि विद्यालय बन्द कार्यक्रम फिर्ता

काठमाडौं ।  विद्यालय शिक्षा विधेयकको प्रस्तावित मस्यौदाको विरोधमा उत्रिएका निजी विद्यालय सञ्चालकहरूले आन्दोलन फिर्ता लिएका छन्।  विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० को प्रस्तावित व्यवस्था सच्याउने सहमति भएपछि आन्दोलन फिर्ता लिएको निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) का महासचिव आरबी कटुवालले जानकारी दिए।

शिक्षामन्त्री अशोक कुमार राईकाे उपस्थितिमा शुक्रबार रक्षा मन्त्रालयमा वार्ता चलेको थियो। वार्तामा शिक्षा सचिव,कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव,प्याब्सनका महासचिव कटुवाल, सल्लाहकार टिकाराम पुरीलगायत सहभागी थिए। ‘वार्ता सकारात्मक भएको छ,त्यही भएर हामीले सबै आन्दोलन हाललाई स्थगन गरेका छौँ,’प्याब्सनका महासचिव कटुवालले भने।

मन्त्रिपरिषदबाट पारित भएको उक्त विधेयकको व्यवस्थाप्रति असन्तुष्टी जनाउँदै र उक्त व्यवस्था सच्याउन माग गर्दै, प्याब्सन,एन प्याब्सन र हिसानले  आन्दोलन गर्दै आएका थिए। विशेष गरी निजी विद्यालयलाई गुठीमा लैजानुपर्ने व्यवस्थाबारे उनीहरूको विरोध रहेको थियो। उनीहरूले पर्सि आइतबारबाट सबै निजी  विद्यालय बन्द गर्ने घोषणा समेत गरेका थिए। (तस्बिरः फाइल)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर