ऊर्जा उत्पादकको ऊर्जामन्त्रीसित गुनासो

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले ऊर्जा क्षेत्रमा देखिएका समस्या सामूहिकरुपमा समाधान गर्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाललगायतका पदाधिकारीसँग आज शुक्रबार ऊर्जा मन्त्रालयमा भएको छलफलमा सरकार र निजी क्षेत्रको सार्थक प्रयासबाट मात्रै ऊर्जा क्षेत्रको बृहत्तर विकास र विस्तार हुने तथा नयाँ अवसरको सिर्जना हुने मन्त्री बस्नेतको भनाइ थियो ।

उनले आन्तरिकरुपमा पनि नदी करिडोरलाई केन्द्रमा राखेर चार सय केभी क्षमताका ६ वटा प्रसारण लाइन निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको र त्यसले केही समयभित्रै सार्थकता पाउने बताए । ऊर्जामन्त्री बस्नेतले निजी क्षेत्रलाई पनि प्रसारण लाइन निर्माण तथा विद्युत् व्यापारमा सहभागी गराउने उद्देश्यका साथ सरकारले नीतिगत प्रबन्ध गर्न लागेको जानकारी दिए ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष ढकालले प्राधिकरणले आवश्यक पर्दा मात्रै बिजुली किन्ने गरेकोले सबै उत्पादित बिजुली बिक्री गर्न नपाउँदा लगानीकर्ता समस्यामा परेको बताए । दोर्दी करिडोरमा प्रसारण लाइनको समस्याका कारण सञ्चालित आयोजना पूर्ण क्षमता चल्न नसकेको उनको भनाइ छ ।

यस्तै, उद्योगी व्यवसायीले भोल्टेजको समस्या भोगेको तथा पटकपटक बत्ती काटिँदा औद्योगिक क्षमता घटेको र उपकरणमा समस्या देखिएको भन्दै तत्काल समाधान गर्न अध्यक्ष ढकालले आग्रह गरे । सो अवसरमा महासङ्घका अध्यक्ष ढकालले मन्त्री बस्नेतलाई ऊर्जा उद्यमीले बेहोर्नुपरेको समस्या समेटिएको ज्ञापनपत्रसमेत बुझाएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर