सांसद डा. शर्माको आइएसीको प्रमाणपत्र नै नक्कली भएको प्रहरीद्वारा पुष्टि

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. सुनील शर्माले एमबीबीएस पढ्न चीनको विद्यालयमा पेश गरेको प्रवीणता प्रमाणपत्र तह (आइएसी) को प्रमाणपत्र नै नक्कली रहेको पुष्टि भएको सिआइबीका प्रवक्ता एसपी नवराज अधिकारीले बताएका छन् ।

शर्माले भारतबाट सुनीलकुमार शर्माको नाममा ल्याएको प्रमाणपत्रबारे सिआइबीले सम्बन्धित विद्यालयसम्म पुगेर बुझेको थियो। सम्बन्धित विद्यालयले पनि उक्त प्रमाणपत्र आफूले नदिएको जानकारी गराएको सिआइबीका प्रवक्ता अधिकारीले बताए।

शर्मासहितका केही चिकित्सकले भारतीय नक्कली प्रमाणपत्रहरु पेश गरी नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको तथा काउन्सिलले सञ्चालन गर्ने दर्ता प्रमाणपत्र परीक्षामा सहभागी भएको पाइएको छ। यसरी नक्कली प्रमाणपत्र पेश गरेर काउन्सिलको प्रमाणपत्र लिएको खुलेपछि मेडिकल काउन्सिल आफैंले सिआइबीमा अनुसन्धान गरी कारबाही गर्न निवेदन दिएको थियो।

यस्तै राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी भक्तपुरले पनि २०७९ साउन ५ गते सिआइबीलाई पत्र पठाउँदै सन् १९९६ मा रोल कोड ६५०४, रोल नम्बर १०११७७ आईएससी तहको सुनिलकुमार शर्माको कैफियतमा अपुष्टि भनी जवाफ दिएको थियो।

शर्माले उक्त प्रमाणपत्र लिएको आधिकारिकता नदेखिएपछि शर्माले नक्कली प्रमाणपत्र लिएको र त्यसैका आधारमा एमबीबीएस पढेको खुलेको हो।

ती प्रमाण पत्र उनले मेडिकल काउन्सिलमा समेत बुझाएका थिए। मेडिकल काउन्सिल आफैंले शंकास्पद ठानेपछि शर्मा पनि छानविनको दायरामा तानिएका हुन्। नेपालका कतिपय चिकित्सकसँग नक्कली शैक्षिक प्रमाणपत्र रहेको सूचनापछि सिआइबीले २०७३ सालमा पनि अनुसन्धान गरेको थियो। त्यतिबेला अरु चिकित्सक पक्राउ पर्दा पनि शर्मा भने फरार भएर जोगिएका थिए। पछि यो विषय सेलाएसँगै उनी नेपाली कांग्रेसको राजनीतिमा थप सक्रिय भएका थिए।

शर्मा मोरङ क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका तर्फबाट निर्वाचित सांसद हुन्। उनलाई पक्राउ गरेलगत्तै सिआइबीले सभामुखलाई जानकारी गराइसकेको छ। अब संसदले उनलाई अनुसन्धान नटुंगिएसम्मका लागि निलम्बन समेत गर्नेछ। सीआईबीले शर्मासँगै नक्कली शैक्षिक प्रमाण पत्रको आरोपमा अन्य चार चिकित्सकलाई पनि पक्राउ गरेको छ। पक्राउ पर्नेमा त्रिवि शिक्षण अस्पताल महाराजगन्जका चिकित्सक समेत छन्।

पक्राउ पर्नेमा ड.। रामबाबु यादव, डा. रञ्जित यादव, डा. एलिना साह र डा. अमित चौधरी रहेका छन्। चौधरी शिक्षण अस्पतालमा कार्यरत छन्। उनीहरूलाई प्रहरी अस्पताल महाराजगन्जमा स्वास्थ्य परीक्षण गरेर हिरासतमा राखिएको छ। शुक्रबार जिल्ला अदालत काठमाडौंमा म्याद थपका लागि उपस्थित गराइने सिआइबीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर