सुन तस्करीमा राजनीतिक तानाबाना खोज्दै सिआइबी

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबीले) करिब एक सय किलो सुन तस्करी प्रकरणमा संलग्न भएको आरोपमा पक्राउ परेका व्यक्तिहरूको राजनीतिक दलका नेताहरूसँगको सम्बन्ध र सम्पर्कबारे अनुसन्धान गर्न थालेको छ। पक्राउ परेका चिनियाँ मूलका बेल्जियन नागरिक दावा छिरिङ र तिब्बती मूलका भारतीय नागरिक थुप्तेन छिरिङ लामाको नेपाली र भारतीय सुन कारोबारी तथा नेपाली नेताहरूसँगको सम्बन्धबारे अनुसन्धान सुरु गरेको हो।

दावा छिरिङ सुरक्षा निकायले प्रयोग गर्ने सुराकी भएका कारण पनि उनी बढी निगरानीमा परेका छन्। उनले प्रहरीलाई सुराकी दिने नाममा आफ्नो पहँुच बनाएका थिए। ‘दावा छिरिङले सुरक्षा निकायलाई पनि चिनियाँ नागरिकबारे सुराकी दिने गरेको पाइएको छ। उनी त्यही आधारमा विगतमा जोगिँदै आएको देखिन्छ’, स्रोतले भन्यो। छिरिङको सम्पर्क माओवादी केन्द्रका उच्च तहका नेताहरू र उनीहरूका परिवारसँग बाक्लो उठबस भएको पाइएको छ। त्यसैले प्रहरीले उनीहरूको ‘कनेक्सन’बारे अनुसन्धान सुरु गरेको हो।

ब्युरोका अनुसार सुन तस्करी प्रकरणमा अर्थ मन्त्रालयका उच्च अधिकारी र केही नेपाली व्यवसायी पनि निगरानीमा छन्। ‘एक नेपाली व्यवसायीमार्फत अर्थ मन्त्रालय उच्च अधिकारीसम्म दावा छिरिङको पहुँच पुगेको देखियो’, प्रहरी उच्च स्रोतले भन्यो। प्रहरीले कल डिटेल पनि अनुसन्धान गरिरहेको छ।

साउन ३ गते त्रिभुवन विमानस्थलबाट जाँचपास भएर बाहिरिएको तस्करीको करिब एक सय किलो राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो। अनुसन्धानका क्रममा विभागले पक्राउ गरेका मानिस र फेला पारेका कागजात, प्रमाण नेपाल प्रहरी प्रधान कार्यालयमार्फत ब्युरोलाई हस्तान्तरण गरेको छ। विभागले आइतबार पक्राउ मानिस र प्राप्त कागजपत्र हस्तान्तरण गरेपछि ब्युरोले अनुसन्धान थालेको हो। ब्युरोले अनुसन्धानका लागि छुट्टै कार्यालय खोलेर टोली खटाएको छ। ब्युरोका एसपी सञ्जयसिंह थापाको नेतृत्वमा अनुसन्धान टोली बनाइएको छ। सुन तस्करीलाई अन्तरदेशीय संगठित अपराधअन्तर्गत राखेर ब्युरोले अनुसन्धान गरिरहेको छ। सुन तस्करीको अनुसन्धान प्रहरीलाई दिन दबाब परेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल यसका लागि तयार भएका हुन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर