नवनियुक्त भट्ट अडिगा पशुपतिनाथको मूल मन्दिरमा प्रवेश

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले नवनियुक्त भट्ट वी यस विनय अडिगालाई आज विधिवत् रूपमा पशुपतिनाथको मूल मन्दिरमा प्रवेश गराएको छ । विधिवत् रूपमा पशुपतिनाथ मन्दिर प्रवेश गरेका भट्ट अडिगालाई मूलभट्ट गणेश भट्टले पाशुपत दीक्षा प्रदान गरेका कोष संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशंकर पराजुलीले जानकारी दिए ।

नवनियुक्त भट्टले आर्यघाटअघिको विष्णुपादुकामा बसी प्रायश्चित्त गोदान गरेर पशुपति क्षेत्रका विभिन्न देवीदेवताको विधिअनुसार दर्शन र परिक्रमा गरी मन्दिर प्रवेश गरेका हुन् । नियुक्तिपछि भट्ट अडिगा पाँच दिनसम्म पहिले बम्बै ढुकुटी घर भएको स्थान हाल श्रीकृष्ण मन्दिरसँगै गुप्तवास बसेका थिए । मूलभट्ट संयोजकत्वको विद्वत् परिषद्को सिफारिसमा भट्ट अडिगालाई पशुपति क्षेत्र विकास कोषले अनुमोदन गरेको थियो ।

दक्षिण भारतको त्रिलिङ्गी ब्राह्मण परिवारका अडिगा पशुपतिनाथको दक्षिण मुहारको पुजारीका रूपमा नियुक्त भएको कोषका प्रवक्ता एवं कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले बताए । यस मुहारका पुजारी रमाकारान्त भट्टले करिब चार महिनाअघि स्वास्थ्यको कारण देखाउँदै राजीनामा दिएका थिए । राजीनामा दिएको चार महिनामा प्रशासनिकलगायत प्रक्रिया पूरा गरी अडिगालाई दक्षिण मुहारको पुजारीका रूपमा नियुक्त गरिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर