पहिरोबाट बेपत्ता भएका ६ जनामध्ये दुई जनाको शव फेला

काठमाडौं । मकवानपुरको बागमती गाउँपालिका ५ मा पहिरोले मङ्गलबार बिहान घर बगाउँदा बेपत्ता भएकामध्ये दुई जनाको शव फेला परेको छ । बागमती गाउँपालिका ५ भोर्लेनीस्थित सिक्रे दोभानमा भल बाढीसहित आएको पहिरोले बगाएर बेपत्ता भएका ६ जनामध्ये दुई जनाको शव बुधबार बिहान फेला परेको हो ।

बागमती गाउँपालिकाका अध्यक्ष सर्केस घलानले दुई वटा शव फेला परेको जानकारी दिए । घरधनी ६० वर्षीय अक्कलबहादुर स्याङ्तान र निजको छोरी २२ वर्षीया शिला पहरी स्याङ्तानको शव फेला परेको उनले बताए । अक्कलबहादुरका ज्वाइँ जीवन पहरी, चार वर्षीय नाति मिलन पहरी र डेढ वर्षीया नातिनी दिव्या पहरी अझै बेपत्ता छन् । घर बगाएको स्थानभन्दा करिब १० किमी दक्षिणमा हरिहरपुरगढी गाउँपालिका १ कोकरेस्थित बागमती नदीको बिच बगरमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

यसअघि मङ्गलबार साँझ सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका १ घर भई पाहुना बस्न पुगेका करिब १६ वर्षीय पासाङ घिसिङलाई पहिरोमा परी बेपत्ता भएको झन्डै १५ घण्टापछि घाइते अवस्थामा उद्धार गरिएको थियो । घाइते घिसिङको हेटौँडामा उपचार भइरहेको छ ।

यस्तै पहिरोमा परेर गम्भीर भएका अन्दाजी ५५ वर्षीया सन्तमाया स्याङ्तानको स्थानीय भोर्लेनीस्थित मेडिकलमा उपचारको क्रममा मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालय मकवानपुरले पहिरोमा परेर बेपत्ता भएकाहरूका खोजी कार्य जारी रहेको जनाएको छ ।

दोलखामा पहिरोमा पुरिएर एक बालकको मृत्यु

यसैबीच दोलखामा पहिरोमा पुरिएर एक बालकको मृत्यु भएको छ । बिगु गाउँपालिका–२ ओराङका १४ वर्षीय तिरिश तामाङको मृत्यु भएको हो ।

तामाकोशी नदीमा माछा मार्न गएको तामाङको पहिरोमा पुरिएर मृत्यु भएको इलाका प्रहरी कार्यालय सिङ्गटीले जनाएको छ । उनी गए राति माछा मार्न तामाकोशी नदी जाँदै गर्दा बाटोमा पहिरोले पुरिएका हुन् । तामाङसँगै गएका अन्य तीन जनाले भागेर ज्यान जोगाएको प्रहरीले जनाएको छ । केही दिनअघि गौरीशङ्कर गाउँपालिका–७ मा पहिरोबाट दुई जनाको ज्यान गएको थियो । पहिरोमा परेर दुई जना अझै बेपत्ता छन् । (तस्बिरः सांकेतिक)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर