नौबिसे–नागढुङ्गा सुरुङ मार्गको रेस्क्यु टनेलमा ब्रेक थ्रु

काठमाडौं । नौबिसे–नागढुङ्गा सुरुङ मार्गको रेस्क्यु टनेल अर्थात् आपत्कालीन सुरुङ मार्गको ब्रेक थ्रु भएको छ । दुई किलोमिटर पाँच सय ५७ मिटर लामो सुरुङ धादिङ र काठमाडौं दुवैतर्फबाट छिचोलिएको सडक विभागले जनाएको छ ।

सडक छिचोल्ने काम पूरा हुने बेलामा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, राज्यमन्त्री नन्दा चपाईँ, सचिव केशवकुमार शर्मासहितको टोलीको उपस्थिति थियो । मुख्य सुरुङ मार्ग पनि अबको चार महिनाभित्र छिचोलिने विभागले जनाएको छ । दुई किलोमिटर ६ सय ८८ मिटर लामो मुख्य सुरुङ मार्ग अब पाँच सय २५ मिटर खन्न बाँकी छ । समस्या नआएमा २०८१ सालको पुसमा सुरुङबाट गाडी चल्ने नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्ग आयोजनाले जनाएको छ ।

अहिले काठमाडौंको चन्द्रागिरिमा रहेको टुटीपाखा र धादिङको धुनीबेसी नगरपालिकामा रहेको सिस्नेखोलामा निर्माणको काम भइरहेको छ । यो सुरुङको निर्माण २०७६ कात्तिक ४ गते शिलान्यास भएको थियो । नागढुंगा–नौबिसे सुरुङ मार्गको निर्माण ठेक्का २२ अर्ब रुपैयाँमा जापानी कम्पनी हाज्मा–आन्द्रो जेभीले लिएको छ । आयोजनाले जग्गा अधिग्रहणबापत साढे पाँच अर्ब रूपैयाँ भुक्तान गरेको थियो ।

सुरुङमार्ग बनेपछि नौबिसे–थानकोट सडकको झन्डै आठ किलोमिटर लम्बाइसँगै झन्डै ३० मिनेट यात्रा समय छोटिने छ । धादिङको धुनिबेसी नगरपालिकाको सिस्ने खोलाबाट सुरु भएको सुरुङ मार्ग काठमाडौंको चन्द्रागिरि नगरपालिका बलम्बुमा निस्किने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर