सुन तस्करी प्रकरणको थप काम अब नेपाल प्रहरीले गर्ने

काठमाडौं । राजस्व अनुसन्धान विभागले सुन तस्करी प्रकरण अनुसन्धानको काम नेपाल प्रहरीलाई जिम्मा लगाएको छ । विभागका महानिर्देशक नवराज ढुंगानाले आइतबार पत्रकार सम्मेलनको आयोजना गरेर सुन तस्करी अन्तरदेशीय सङ्गठित अपराध भएकाले विभागले थप छानबिन र मुद्दा अभियोजनको सम्पूर्ण जिम्मेवारी प्रहरीलाई दिएको जानकारी दिए ।
अनुसन्धानमा अहिलेसम्म भएको काम र पक्राउ परेका सबै आरोपितलाई पनि प्रहरीको जिम्मा लगाइएको महानिर्देशक ढुंगानाले बताए । पक्राउ परेका आरोपित, बरामद सबुत प्रमाण र अनुसन्धानको प्रगति प्रतिवेदन विभागको टोलीले प्रहरी महानिरीक्षक वसन्त कुँवरलाई हस्तान्तरण गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यसअघि नै अनुसन्धानको काम प्रहरीलाई दिन निर्देशन दिएका थिए । सुन तस्करी प्रकरणको अनुसन्धान राजस्व र भन्सार छलीमा मात्रै गर्दा जरोसम्म पुग्न नसकिने भएकोले सङ्गठित अपराध, अन्तर्देशीय अपराध र आतङ्कवादसँग पनि जोडेर अनुसन्धान गर्न प्रहरीलाई दिने प्रधानमन्त्री प्रचण्डले यसअघि बताएका थिए । अब यो प्रकरणका अनुसन्धान प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अघि बढाउने छ । सिआइबीमा वित्तीय र सङ्गठित अपराध हेर्ने छुट्टै युनिट छ ।

विभागले साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट बाहिरिएको एक सय किलो सुन बरामद गरेको थियो । तस्करहरूले हङकङबाट नेपाल ल्याएको सुन प्रकरणमा विमानस्थल भन्सारका तीन जना कर्मचारीसहित १८ जना पक्राउ परिसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर