भारतको चन्द्रयान–३ सफलतापूर्वक चन्द्रमाको कक्षमा प्रवेश
काठमाडौं । भारतले प्रक्षेपण गरेको चन्द्रयान–३ सफलतापूर्वक चन्द्रमाको कक्षमा प्रवेश गरेको छ । भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) का अनुसार चन्द्रयान–३ अन्तरिक्ष यानले चन्द्रमाको झण्डै दुई तिहाइ दूरी तय गरी हिजो सफलतापूर्वक चन्द्रमाको कक्षमा प्रवेश गरेको हो । इसरोले ट्विट गर्दै लेखेको छ ‘यो चन्द्रयान–३ हो । म चन्द्रमाको गुरुत्वाकर्षण महसुस गरिरहेको छु ।’ भारतले तेस्रो चन्द्र अन्वेषण अभियान चन्द्रयान–३ लाई गएको जुलाई १४ मा आन्ध्र प्रदेशको श्रीहरिकोटा सतीश धवन अन्तरिक्ष केन्द्रबाट सफलतापूर्वक प्रक्षेपण गरेको थियो ।
अमेरिका, चीन र रुसपछि चन्द्रमाको सतहमा आफ्नो अन्तरिक्षयान अवतरण गर्ने र चन्द्रमाको सतहमा सुरक्षित र सफल अवतरणका लागि देशको क्षमता प्रदर्शन गर्ने भारत चौथो देश हो । अवतरण पछि, चन्द्रयान–३ ले चन्द्रमाको डार्क साइटमा काम गर्नेछ । चन्द्रमाको एक दिन पृथ्वीको १४ दिन बराबर हुन्छ । भारतले पहिलो पटक सन् २००८ मा चन्द्रमातर्फ चन्द्रयान–१ पठाएको थियो । यो अभियानबाट चन्द्रमाको सतहमा पानीको अस्तित्व रहेको प्रमाणित गरिएको थियो ।
सन् २०१९ को सुरुतिर प्रक्षेपण गरिएको चन्द्रयान–२ चन्द्रमामा अवतरण हुन सकेको थिएन । भारतले चन्द्रयान–३ का लागि झन्डै ८ करोड डलर खर्च गरेको छ । भारतको अन्तरिक्ष कार्यक्रमका लागि १ दशमलव ५ अर्ब डलर बजेट छुट्याइएको छ । (एजेन्सी)