माओवादी केन्द्रको बैठक जारी, अध्यक्ष प्रचण्डद्वारा पार्टी एक ढिक्का भएको महसुस

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज आइतबार पनि जारी रहने भएको छ । गत बुधबादेखि सुरु भएको केन्द्रीय समिति बैठकमा झन्डै २ सय जना केन्द्रीय सदस्यले आ–आफ्नो धारणा व्यक्त गरिसकेका छन् । आज बस्ने बैठकले पार्टीको योजना बनाउने र कार्यविभाजनको प्रक्रिया अघि बढाउने तयारी छ । नेता जर्नादन शर्मा, वर्षमान पुनलगायतका नेताले शनिबारको बैठकमा आ–आफ्नो धारणा राखेका थिए । मङ्सिरमा गर्ने भनिएको विधान सम्मेलन, समसामयिक राजनीतिक विषय, पार्टी नेतृत्वको सरकारले गरेका काम कारबाहीका बारेमा मुख्य गरी बैठकमा छलफल भइरहेका् छ ।

बैठकमा ३८५ जना केन्द्रीय समिति सदस्य, १९८ जना वैकल्पिक सदस्य, केन्द्रीय आयोगका ७५ जना र प्रदेश पदाधिकारीबाट १०० जना गरी जम्मा ७५८ सहभागी भइरहेको माओवादी केन्द्रीय कार्यालयले जनाएको छ ।

यसैबीच नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टी एक ढिक्का भएको बताएका छन्। काठमाडौंमा भइरहेको केन्द्रीय कमिटी बैठकबाट बाहिरिँदै शनिबार उनले पार्टी अब एक ढिक्का भयो भन्ने महसुस भएको बताए।

माओवादी बैठक वाद, विवाद र संवाद हुँदै टुंगिन लागेको उनको भनाइ छ। ुहामीले लोकतन्त्रको भने पनि जनवादको भने पनि धेरै ठूलो र सर्वोच्च अभ्यास गर्‍यौं। पार्टी अब एक ढिक्का भयो भन्ने सबैलाई महसुस भएको छ। वाद विवाद र सम्बादमा यो बैठक टुंगिदैछ,ु उनले भने।

पार्टी प्रवक्ता कृष्णबहादुर महराले बैठकमा सबैले अध्यक्ष दाहालको राजनीतिक प्रस्तावमा समर्थन जनाएको बताए । त्यस्तै मा‌ओवादी नेतृ रेखा शर्माले केन्द्रीय सदस्यहरूले बोल्ने क्रम लगभग सकिएको बताइन्। उनले सरकार सञ्चालनका विषयमा सबै जनाले धन्यवाद दिएको र पार्टी निर्माणमा ठोस अवधारणा ल्याउन सुझाव दिएको बताइन्।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर