सरकार पुँजीगत खर्च बढाउन केन्द्रित : मन्त्री महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र थप चलायमान बनाउन पुँजीगत खर्च बढाउने गरी सरकारले काम गरिरहेको बताएका छन् ।

नेपाल प्रेस युनियन पर्साले शुक्रबार वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा अर्थमन्त्री डा. महतले विगतमा पुँजीगत खर्च कम हुँदा आर्थिक वृद्धिदर कम भएको बताए । विगतमा अर्थतन्त्रमा देखिएको समस्या बिस्तारै समाधान हुँदै गएको भन्दै उनले पछिल्लो समय विदेशी मुद्रा सञ्चितिको अवस्थामा सुधार आएको उल्लेख गरे । उनले उच्च ब्याजदरका कारण कर्जा प्रवाहमा देखिएको समस्या समाधानमा सरकार लागेको पनि बताए ।

उनले राजस्व सङ्कलन गर्ने निकायका कर्मचारीले गर्ने दुरुपयोग, त्रुटि, उदासीनता र निष्क्रियता मान्य नहुने भन्दै पारदर्शिता, राजस्व वृद्धिमा ध्यान निर्देशन दिइसकेको जानकारी दिए । सो अवसरमा उनले दुई दशकदेखि बन्द वीरगञ्ज चिनी कारखानालगायतका रुग्ण उद्योग पुनः सञ्चालनका विषयमा सरकारले सम्भाव्यता अध्ययन गरिरहेको बताए ।

अर्थमन्त्री महतले वीरगञ्जस्थित कृषि औजार कारखाना मर्मतसम्भार गरी पुनः सञ्चालनमा ल्याउन अर्थ मन्त्रालयले राष्ट्रिय आविष्कार केन्द्रलाई तत्कालका लागि एक करोड बजेट उपलब्ध गराइसकेको पनि जानकारी दिए । उनले सरकारसँगको सम्झौताअनुसार केन्द्रलाई २५ करोड दिने उल्लेख भएको र त्योमध्ये हालका लागि एक करोड अर्थ मन्त्रालयबाट निकासा भइसकेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर