ऋणमा चुर्लुम्म डुबेका बलिउड निर्देशक नितिन देसाईद्वारा आत्महत्या

काठमाडौं । बलिउडका चर्चित कला निर्देशक नितिन देसाई महाराष्ट्रको रायगढ जिल्लास्थित आफ्नै स्टुडियोमा मृत फेला परेका छन्। उनले आत्महत्या गरेको हुनसक्ने भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। उनको शव उनकै एनडी स्टुडियोमा झुन्डिएको अवस्थामा फेला परेको एक प्रहरी अधिकारीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

ऋणमा चुर्लुम्म डुबेका उनले साहुहरुलाई २ अर्ब ५२ करोड भारतीय रुपैयाँ तिर्नुपर्ने थियो। रायगढस्थित देसाईको ४२ एकडमा फैलिएको एनडी स्टुडियो महाराष्ट्रको राजधानी मुम्बईबाट करिब ५० किलोमिटर पर छ। ती प्रहरी अधिकारीले जानकारी पाउनासाथै प्रहरी घटनास्थलमा पुगेको बताए। देसाईले मङ्गलबार राति आत्महत्या गरेको तर बुधबार बिहान मात्रै जानकारी पाइएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

उनले ‘देवदास’, ‘लगान’, ‘हम दिल दे चुके सनम’ र ‘डाक्टर बाबा साहेब अम्बेडकर’ का लागि अवार्ड पाएका थिए। चर्चित बलिउड फिल्मसँग जोडिएका देसाईको स्टुडियोमा आमिर खानको फिल्म ‘मंगल पाण्डे’ को सुटिङ भएको थियो। देसाईले ‘लगान’, ‘हम दिल दे चुके सनम’, ‘जोधा अकबर’‚ ‘देवदास’ र ‘राम रतन धन पायो’ जस्ता सफल फिल्मका कला निर्देशन गरेका थिए। कला निर्देशकको रूपमा चार वटा राष्ट्रिय पुरस्कार जितेका उनले सन् १९९० को दशकमा प्रदर्शनमा आएको विधुविनोद चोपडाको फिल्म ‘१९४२स् अ लभ स्टोरी’ को सेट डिजाइन गरेपछि उनी चर्चित भएका थिए। गत सातामात्र अदालतमा उनको कम्पनी एनडी आर्ट वर्ल्ड प्रालिविरुद्ध अदालतमा टाट पल्टिएको भन्दै मुद्दा दायर भएको थियो।

उनको कम्पनीले सन् २०१६ र २०१८ मा गरी कुल १ अर्ब ८५ करोड भारु ऋण लिएका थिए तर कोरोना महामारी शुरु भएपछि उनले सन् २०२० जनवरीदेखि ऋणको किस्ता तिर्न सकेका थिएनन्। उनका अन्तरंग मित्र रहेका भारतीय जनता पार्टीका महासचिव विनोद तावडेले भनेका छन्‚ ‘म प्रायः उनीसँग कुरा गरिरहन्थें र उनलाई अमिताभ बच्चनको उदाहरण देखाउँदै अमिताभले कसरी विशाल आर्थिक हानी बेहोरेर पनि फेरि पुनःस्थापित भए भनेर सम्झाउने गर्थें। मैले उनलाई नयाँ शुरुवात गर्न सल्लाह दिने गरेको थिएँ। अस्तिमात्र पनि मैले उनीसँग कुराकानी गरेको थिएँ।’ (एजेन्सी)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर