जापान र दक्षिण कोरियामा गर्मीले मृत्यु हुनेकाे संख्या बढ्दाे
काठमाडौं । यतिबेला विश्वका अधिकांश देशले प्राकृतिक विपत्तिको सामना गरिरहेका छन् । कतिपय ठाउँमा भारी वर्षा विपद्को कारण बनेको छ भने कतिपय ठाउँमा अत्यधिक गर्मीले मानिसको ज्यान गएको छ ।
यस सन्दर्भमा दक्षिण कोरिया र जापान चर्को गर्मीको लहरको चपेटामा परेका छन्। दक्षिण कोरियामा गर्मीका कारण १२ जनाको ज्यान गएको छ भने जापानमा विद्यालयबाट फर्कने क्रममा १३ वर्षीया बालिकाको गर्मीबाट मृत्यु भएको छ ।
दक्षिण कोरियाको योनहाप समाचार एजेन्सीले यो साता चर्को गर्मीका कारण ज्यान गुमाउनेमा ७० वर्षभन्दा माथिका पाँच जना किसान रहेको जनाएको छ ।
यसअघि गर्मीका कारण सात जनाको मृत्यु भइसकेको छ । पछिल्लो अवस्थालाई ध्यानमा राख्दै मंगलबार देशका अधिकांश भागमा गर्मीको लहरको चेतावनी जारी गरिएको थियो । समाचार अनुसार जुलाई महिनामा तापक्रम ४० डिग्री पुगेपछि मानिसहरू निकै चिन्तित भएका थिए ।
यस्तै मौसम जापानमा पनि छ । जसका कारण शुक्रबार १३ वर्षीया बालिकाको मृत्यु भएको थियो । मैनीचीको रिपोर्टका अनुसार उनी साइकलमा स्कूलबाट घर जाँदै थिइन्। त्यसपछि उनी बेहोस भइन् र फुटपाथमा लडेकी थिइन् । उनलाई अस्पताल लगिए पनि बचाउन सकिएन । अधिकारीहरूले बालिकाको मृत्यु हीटस्ट्रोकका कारण भएको दाबी गरेका थिए ।
योसँगै टोकियोमा एक वृद्ध दम्पती आफ्नै घरमा मृत फेला परेपछि शुक्रबारदेखि मृत्यु हुनेको संख्या तीन पुगेको छ । सहरको तापक्रम ३५ दशमलव ७ डिग्री पुगेका र वातानुकूलित नभएकाले उनीहरूको हीटस्ट्रोकबाट मृत्यु भएको प्रहरीले अनुमान गरेको छ । एजेन्सी