कोशीमा मन्त्रालय भागभन्डाको चक्करले शपथ ग्रहण सारियो

काठमाडौं । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले लिने भनिएको शथप ग्रहण कार्यक्रमको समय सरेको छ। आज अर्थात बुधबार १०:३० बजे लिने भनिएको शपथ ग्रहणको कार्यक्रम ५ बजे सरेको छ।

मन्त्रालय टुंगो लगाउने विषयले शपथग्रहण कार्यक्रमको समय सरेको माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले जानकारी दिए। यसअघि बिना विभागीयमन्त्री बनाउने गठबन्धनको निर्णय भए पनि आज मन्त्रालय नै टुंगो लगाउने भन्ने कुरा आएपछि समय सरेको उनले बताए। उनले भने, ‘गठबन्धनको बैठक बसेर फाइनल गर्छौं।’

प्रदेश प्रमुख परशुराम खापुङले संविधानको १६८ को उपधारा २ अनुसार कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको समर्थन पाएका थापालाई मङ्गलबार मुख्यमन्त्री नियुक्त गरेका हुन्।

थापालाई मुख्यमन्त्री बनाउन कांग्रेसका २९, माओवादीका १३, एकीकृत समाजवादीका ४ र जसपाका १ सांसदको समर्थन रहेको छ। सभामुख बाबुराम गौतमले सभामुखबाट राजीनामा दिइसकेकोले उनी माओवादी संसदीय दलका सदस्य कायम रहेको र गठबन्धनसँग बहुमत अर्थात् ४७ सांसद पुगेको हो। गठबन्धनको सरकार बनाउन सभामुख गौतमले मङ्गलबार नै पदबाट राजीनामा दिएका थिए।

यसअघि सभामुखको हैसियतमा छुट्टै हस्ताक्षर लिएर सरकारको दाबी गरेर नियुक्त भएका थापालाई नियुक्ति प्रक्रिया नमिलेको भन्दै सर्वोच्च अदालते मुख्यमन्त्री नियुक्त भएको २२ दिनमै बर्खास्त गरेको थियो।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर