सुन तस्करी प्रकरणमा माओवादी बैठकमा तातो बहस

काठमाडौं : नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकमा सुन तस्करी प्रकरणले बैठकको वातावरण तताएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पार्टीका वरिष्ठ उपाध्यक्षसमेत रहेका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गरिरहेका बेला माओवादी पदाधिकारी बैठकमा सुन तस्करी प्रकरणले तातो बहस भएको छ ।
इटाली भ्रमण सकेर स्वदेश फर्किएमा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहालले शनिबार बालुवाटारमा बोलाएको पदाधिकारी बैठकमा सय किलो सुन तस्करी प्रकरणमा प्रधानमन्त्री दाहालले विशेष चासो राखेका थिए। उनको चासोलाई गृहमन्त्री श्रेष्ठले ब्रिफिङ गरेर सुन तस्करी, ललितानिवास र नक्कली भुटानी शरणार्थी प्रकरणमा एमाले बढी नै उत्तेजित भएको बताएका थिए । यसबाहेक बैठकमा समसमायिक राजनीतिक विषयमा सबाल जवाफ भएको थियो।

बैठकको निष्कर्ष साउन १७ गतेदेखि हुने केन्द्रीय समिति बैठकको तयारीस्वरुप पदाधिकारी बैठक डाकिएको थियो। पहिलो दिनको बैठकले सांगठनिक, राजनीतिक प्रतिवेदन र एजेण्डाका विषयमा छलफल भएको सचिव डिलाराम आचार्यले बताए। उनका अनुसार आइतबारको बैठकले यस विषयमा मूर्तरूप दिनेछ।

विशेष महाधिवेशनको माग

पदाधिकारी बैठकमा विशेष महाधिवेशन गर्नुपर्ने मागसमेत उठेको छ। पार्टी अध्यक्षसहित पदाधिकारीहरू सरकारको नेतृत्वमा रहँदा सांगठनिक कामहरू रोकिएको भन्दै बैठकमा विशेष महाधिवेशनको माग भएको सचिव गणेश साहले बताए।

“पार्टीको विधान गोलमाल र अस्पष्ट छ। त्यसलाई स्पष्ट पार्न सल्लाह दिइएको छ”, उनले भने, “त्यस्तै विशेष महाधिवेशन गर्न मागसमेत उठेको छ। त्यसअघि विधान सम्मेलन गर्नुपर्छ। पार्टीको संरचाना र नेतृत्व फेरिनुपर्ने कुरा उठेको छ”, उनले भने। उनले महाधिवेशनमार्फत् भद्दा समिति गठन भएको बताए। पार्टीका विभिन्न समितिहरू पनि कामकाजी नभएको सुझाव बैठकमा उठेको उनको भनाइ छ।

“पार्टी, राजनीति र संगठनात्मक सल्लाह माग गरिएको छ। आइतबार फेरि बैठक बस्छ। राजनीति र संगठनात्मक दस्ताबेज धेरै ठूलो नबनाउन सल्लाह भएको छ। यस विषयमा भोलि बुँदागतरूपमा प्रस्तुत हुन्छ”, उनले भने।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर