रास्वपाले निकाल्यो ढाकाकुमारलाई सांसदबाट….

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठमाथि अनुशासनको कारवाही गर्दै उनको साधारण सदस्यतासमेत खारेज गरेको छ । रास्वपाको केन्द्रीय समितिको बुधबार बसेको बैठकले उनलाई सांसदसहित पार्टीको साधारण सदस्यबाटसमेत हटाउने निर्णय गरेको छ।

आफू निकट भविष्यमा स्वास्थ्यमन्त्री बन्ने र त्यसका लागि मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ माग गरेको अडियो आइतबार सार्वजनिक भएपिछि सांसद श्रेष्ठको राजनीतिक जीवन ओरालो लागेको हो ।

पार्टी सभापति रवि लामिछानेले श्रेष्ठको सदस्यता खारेजसम्बन्धी निर्णयका सम्बन्धमा सञ्चारकर्मीहरूलाई जानकारी दिएका थिए । यसअघि अनुशासन समितिले उनलाई कारबाही गर्न निर्देशनसहितको प्रतिवेदन बुझाएको थियो ।

मविरुद्ध यो सुनियोजित योजना हो : श्रेष्ठ

यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका समानुपातिकका तर्फबाट निर्वाचित सांसद ढाकाकुमार श्रेष्ठले पार्टी र आफूविरुद्ध सुनियोजित योजनाअनुरूप गत जनवरी महिनाको अडियो अहिले सार्वजनिक गरिएको भन्दै आफ्नो प्रतिरक्षा गरेका छन् ।

रास्वपाको पार्टी कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले क्लिन चिट लिएर आफू फेरि आउने दाबी गरे। उनले अडियो प्रकरणले आफ्नो र पार्टीको मान, प्रतिष्ठामा आँच पुगेको भन्दै क्षमासमेत मागे।

“भाइरल भएको अडियोले मेरो र पार्टीको प्रतिष्ठामा आघात पुगेको छ। यो अडियो अथेन्टिक (आधिकारिक) होइन। ह्वाट्स एपमा गरिएको कुरा रेकर्ड गरिएको भन्ने छ। त्यो सत्य होइन । यो अडियो जसले जहाँ पनि जसरी पनि बनाउन सक्ने भन्दै सम्पादन गरी जोडजाड गरेर बनाइएको र म त्यसमा संलग्न छैन, ” उनले भने ।

जनवरी, फेब्रुअरीमा कुरा भएको भनेर तपाइँले आफ्नै कुरा काट्नुभयो नि भन्ने पत्रकारको प्रश्नमा श्रेष्ठले कुनै जवाफ दिएनन्। उनले पार्टीको निलम्बन गर्ने निर्णयलाई स्वीकार गर्दै न्यायालयमा आफ्नो कुरा राखेर सफाइ लिएर आउने बताए। विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड बार्गेनिङ गरेको विषय बाहिरिएपछि ढाकाकुमार अहिले राजनीतिक वृत्तमा सर्वाधिक चर्चामा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर