‘जारी’ चलचित्रको सय दिन पूरा
काठमाडौं । लिम्बू समुदायको संस्कृतिलाई विषयवस्तु बनाइएको चलचित्र ‘जारी’ प्रदर्शनको सय दिन पूरा भएको छ । श्रीमती फिर्ता ल्याउन सङ्घर्षरत श्रीमानको कथा प्रस्तुत गरिएको जारी प्रथासँग सम्बन्धित चलचित्रलाई कविसँगै कथाकार रहेका उपेन्द्र सुब्बाले निर्देशन गरेका हुन् ।
यस वर्षकै पहिलो दिन वैशाख १ गतेदेखि प्रदर्शनरत चलचित्रले काठमाडौं उपत्यकामा रहेका तीन चलचित्र भवन क्युएफएक्स सिभिल मल, बिग मुभिज र एफक्युबमा प्रदर्शनको सय दिन पूरा गरेको हो ।
चलचित्रका कार्यकारी निर्माता मणिराम पोखरेलले यो खुसी शब्दमा व्यक्त गर्न नसकिने बताए । उनले भने, ‘सय दिन पूरा गर्ने चलचित्र बन्यो । अहिले चलचित्र भवनको सङ्ख्या बढेको समयमा यो सफलता विरलै हो । पर्दामा समुदायको संस्कृतिलाई दर्शकले रुचाए ।’
चलचित्र विकास बोर्डले सार्वजनिक गरेको तथ्याङ्कअनुसार ‘जारी’ को गत असार ३१ गतेसम्म ६ लाख १९ हजार दुई सय २१ टिकट बिक्री भएबापत १७ करोड १७ लाख ९९ हजार १८ ग्रस व्यापार भएको छ ।
चलचित्रमा दयाहाङ राई, मिरुना मगर, विजय बराल, प्रेम सुब्बा, अनिल सुब्बा, रोयदीप, रेखा लिम्बू, कमलमणि नेपाल, पुष्कर गुरुङलगायतले अभिनय गरेका छन् ।