महानगरको निणर्यविरुद्ध संगठित विरोधको तयारी

काठमाडौं । काठमाडौं महागरपालिकाले आफूमातहतमा सम्पूर्ण सामुदायिक विद्यालय व्यवस्थापन समिति (विव्यस) भङ्ग गर्ने निर्णय गरेको छ। महानगरपालिकाको गत असार ३० गते सम्पन्न नगरसभाले उक्त प्रस्ताव पारित गरेको हो।

नगरसभाले हालको समिति भङ्ग गरेर सम्बन्धित वडाका अध्यक्षलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्षको जिम्मेवारी दिने प्रस्ताव पारित गरेको छ। नगरसभाले पारित गरेको प्रस्तावप्रति सामुदायिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष तथा प्रधानाध्यापकले ठाडो असन्तुष्टि जनाएका छन्। वर्तमान समिति भङ्ग गरेर वडाध्यक्षको अध्यक्षतामा नयाँ समिति गठन गर्ने व्यवस्थाले विद्यालयमा प्रतिगमन भित्रिन लागेको र यसले आफूहरूलाई समेत समस्यामा पार्ने भन्दै उनीहरूले सङ्गठित रूपमा विरोध गर्ने तयारी गरेका छन्।

महानगरपालिकाका शिक्षा अधिकारी सीताराम कोइरालाले नगर सभाले पारित गरे पनि उक्त निर्णय हालसम्म प्रमाणीकरण नभएको जानकारी दिए । नगरसभाले पारित गरेको प्रस्ताव प्रमुख प्रशासकीय अधिकृतबाट प्रमाणीकरण भएपछि मात्रै राजपत्रमा प्रकाशित हुने व्यवस्था छ। नगरसभाले पारित गरेको निर्णय सामान्यतया १५ दिनभित्रमा प्रमाणीकरण गर्ने चलन छ तर प्रमाणीकरण भएको भोलिपल्टदेखि नै पुरानो समिति स्वतः भङ्ग हुने छ भने वडाध्यक्ष विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बन्ने छन्।

महानगरपालिकाभित्र ८९ वटा सामुदायिक विद्यालय छन्। महानगरपालिकाभित्र ३२ वटा वडा छन्। नयाँ व्यवस्थाअनुसार व्यवस्थापन समिति गठन भएको अवस्थामा एकै वडाध्यक्षले थुप्रै विद्यालयको व्यवस्थापन समिति सम्हाल्नुपर्ने हुन्छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर