एमाले सांसद सूर्य थापाको आरोप “गृहमन्त्री नारायणकाजी नैतिकहराम”

काठमाडौं । नेकपा एमालेका सांसद सूर्य थापाले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेका छन्। उनले शुक्रबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘यसमा गृहमन्त्रीजीले जवाफदेही भएर छानविन प्रभावित नहोस् भनी स्वःनिलम्बन राजीनामाको घोषणा गर्न अत्यन्त ढिलो भयो।’

यस्तो छ थापाको स्टाट्स “हवाई यात्राको क्रममा गौचरन एअरपोर्टमा प्रायः सँधैभरि प्रतिनिधिसभा सदस्यको लोगो लगाएर म आम यात्रु जसरी सुरक्षा जाँच गराउँछु। कहिलेकाहीँ भिआइपी कक्षतर्फ अलिक लामो प्रतीक्षाको लागि पनि जान्छु। तर सुरक्षा जाँचको प्रक्रिया पूरा गरेर मात्रै। त्यसक्रममा कलम, मोवाइल र पेटीसमेत खोलेर छुट्टै ट्रेमा देखाउन र एक्सरे मेशिनमा राख्न लगाइन्छ। त्यसो गर्नु संवेदनशील सुरक्षा प्रयोजनले सही नै हो भनेर सहयोग गर्दै आएको छु। प्रहरी सुरक्षाकर्मीले त्यति गरिसक्दा सुरु र अन्तिमका एक्सरे मेशिन पार गर्नेक्रममा दुईदुई पटक शरीर छामछुम पनि गर्छन्। यो सबै देखाउन र लोक रिझाइका लागि गर्ने गरिएको हो। एक क्विन्टल सुन इन्टरनेसनल टर्मिनलको सारा कडा सुरक्षा जाँच परीक्षण पार गरी सकुशल सिनामंगलसम्म ट्याक्सीमा सवार हुन कसरी पुग्यो ? यसमा गृहमन्त्रीजीले जवाफदेही भएर छानविन प्रभावित नहोस् भनी स्वःनिलम्बन ? राजीनामाको घोषणा गर्न अत्यन्त ढिलो भयो। नैतिकता र जवाफदेहीता फगत आदर्शको रटान र स्टन्टबाजी वा आत्म प्रशंसाको खोक्रो अभिनय होइन र हुनै सक्दैन। जिम्मेवार व्यक्ति स्वयंले दृष्टान्त बन्न सक्नुपर्ने निर्मम विषय हो। गृहमन्त्री नारायणकाजी श्रेष्ठजी, जवाफ दिन सक्नुहुन्छ? तपाइँको कार्यकालमा कति क्विन्टल सुन यस्तो सेटिङमा भित्रियो र दक्षिणतर्फ निर्यात गरियो ? अनि, सुन तस्करीको यस्तै नालायक र निर्लज्ज रमिते बन्न गृहमन्त्री बन्नुभएको हो त? अब राजीनामा दिएर छानविनलाई सघाउनुस्, अन्यथा तपाइँभन्दा नैतिकहराम मान्छे नेपाल सरहदभित्र नभूतो नभविष्यति अरू कोही देखिने छैन।”

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर