जोन्सन एण्ड जोन्सन पीडितलाई साढे दुई अर्ब क्षतिपूर्ति दिन अमेरिकी अदालतको आदेश

काठमाडौं । बहुराष्ट्रिय अमेरिकी कम्पनी जोन्सन एन्ड जोन्सनले एक ब्यक्तिलाई झण्डै साढे दुई अर्ब रुपैयाँ बराबरको क्षतिपूर्ति दिनुपर्ने भएको छ ।

क्यालिफोर्नियका २४ वर्षीय इमोरी हर्नान्डेज भलाडेजले जोन्सन एण्ड जोन्सनको बेबी पाउडर प्रयोग गरेका कारण आफूलाई क्यान्सर भएको भन्दै मुद्दा हालेकोमा क्यालिफोर्निया स्टेट कोर्टले मंगलबार उनको पक्षमा फैसला सुनाएको हो ।

फैसला अनुसार कम्पनीले उनलाई १ करोड ८८ लाख डलर क्षतिपूर्ति दिनुपर्ने भएको छ । यस्तै, प्रकृतिका कैयौं मुद्दाहरु लडिरहेको जोन्सन एण्ड जोन्सन कम्पनीलाई मंगलबारको फैसलाले झड्का लागेको छ । सानै उमेरदेखि सो कम्पनीको पाउडर प्रयोग गरेका कारण आफूमा ‘मेसोथेलिओमा’ नामको क्यान्सर देखिएको उनको दाबीलाई अदालतले पनि सही ठहर गरेको हो ।

स्टेट कोर्टको जुरीले पीडित हर्नान्डेजको उपचार खर्च र उनले भोगेको शारीरिक तथा मानसिक पीडाको क्षतिपूर्ति पनि दिन आदेश दिएको हो । तर, कम्पनीलाई दण्डात्मक क्षतिपूर्ति तिराउने माग भने अदालतले अस्वीकार गरेको छ । जनसन एन्ड जनसन कम्पनीको बेबी पाउडरमा एस्बेसटस रहेको र त्यसले क्यान्सर गराएको भन्दै दर्जनौं उजुरीहरु परेका छन् ।

कम्पनीले भने वैज्ञानिक अनुसन्धानबाट आफ्नो पाउडर सुरक्षित रहेको दाबी गर्दै आएको छ । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर