केही महिनाभित्र नागढुङ्गा सुरुङ मार्गको काम सकिने

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासहित उच्च अधिकारीसहितको टोलीले (नागढुङ्गा–सिस्नेखोला) सुरुङमार्गको आज (मंगलबार) अनुगमन गरेको छ ।

भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नन्दा चपाईँ, सांसद राजेन्द्रप्रसाद पाण्डे, पूर्वमन्त्री डा. गङ्गालाल तुलाधर, सडक विभाग र विश्व बैंकका उच्च अधिकारीको टोलीले निर्माणको अन्तिम चरणमा रहेको सुरुङ मार्गको स्थलगत निरीक्षण गरेका हुन् ।

निरीक्षणका क्रममा मन्त्री ज्वालाले थपिएको समयसीमाभित्र काम सक्न निर्माण कम्पनीलाई निर्देशन दिए । निर्माण प्रक्रियामा कुनै व्यावहारिक जटिलता उत्पन्न भए सरकारले सहजीकरण गरिदिने उनको भनाइ थियो ।

सुरुङ मार्गको मुख्य टनेल करिब चार सय मिटर र रेस्क्यु टनेल करिब ३५ मिटर खन्न बाँकी रहेको सुरुङमार्ग निर्माण कम्पनी स्वच्छन्द निर्माण सेवाका प्रमुख इन्जिनियर नारायण दुवाडीले जानकारी दिए । अबको केही महिनामा रेस्क्यु टनेल जोडिसक्ने र छिट्टै मुख्य टनेल जोड्ने तयारी छ । आउँदो एक वर्षभित्रमा गाडी चलाउन मिल्ने बनाउने गरी काम तीव्ररूपमा अघि बढाइएको उनले बताए ।

सुरुङ मार्ग विसं २०७६ कात्तिकमा शिलान्यास गरिएको थियो । यसको लम्बाइ दुई दशमलव ६८ किलोमिटर छ । यहाँ नौ मिटर चौडाइको मुख्य टनेल र चार मिटर चौडाइको रेस्क्यु टनेल गरी दुई सुरुङ निर्माण भइरहेका छन् । १४ महिना थपिएको समयअनुसार २०८१ सालको असोजसम्ममा सम्पूर्ण काम सकेर सुरुङ मार्गमा सवारी सञ्चालन ल्याउन सकिनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर