घामकै कारणले पनि छालाको क्यान्सर हुन सक्छ ?

काठमाडौं । छालाको क्यान्सरबाट पीडित हुनेको संख्या बढिरहेको छ । खासगरी शरीरमा घामको विकिरण सिधा सम्पर्क हुँदा छालाको क्यान्सर हुने सम्भावना हुन्छ । घाममा धेरै समय बिताउने, घाममा काम गर्ने, शरीरमा अत्यधिक कोठी भएका, छाला संवेदनशील भएका, परिवारमा कसैलाई छालाको क्यान्सर भएका व्यक्तिलाई छालाको क्यान्सर हुने सम्भावना हुन्छ ।

कसरी घामको कारण छालामा क्यान्सर हुन्छ ?

सूर्यबाट आउने परावैजनी किरण निकै हानिकारक हुन्छ । यूभीए, यूभीबी विकिरण शरीरको सिधा सम्पर्कमा पुग्दा छालामा असर गर्छ र क्यान्सर हुने जोखिम हुन्छ ।

प्रायजसो ६५ वर्षभन्दा माथिका व्यक्तिलाई छालामा क्यान्सर हुने सम्भावना बढी हुन्छ । किनकि यो उमेरमा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ ।

छालाको क्यान्सरका प्रकार

छालाको क्यान्सर तीन प्रकारको हुन्छ, बेसल सेल कार्सिनोमा, स्क्वामोस सेल कार्सिनोमा र मेलोनोमा ।

बेसल सेल कार्सिनोमा : सिधा घामको सम्पर्कमा लामो समयसम्म रहँदा यो प्रकारको क्यान्सर हुने सम्भावना हुन्छ । जस्तै अनुहार, कान, गाला, घाँटी र हातमा देखिने र विस्तारै बढ्दै जाने हुन्छ । यसलाई सुरुवाती अवस्थामा उपचार गर्न सके निको हुन्छ । यसमा मलम, लेजर, क्यान्सर देखिएको छाला काटेर उपचार गरिन्छ ।

स्क्वामोस सेल कार्सिनोमा

यो पनि शरीरको सिधा घामको सम्पर्क हुने अंगमा हुन्छ । अल्सर र पुरानो घाउमा यस्तो क्यान्सर हुने सम्भावना हुन्छ । यो बेसल सेल भन्दा पनि जटिल खालको हुन्छ । यस्तो क्यान्सर भएमा शल्यक्रिया मार्फत उपचार गर्नुपर्ने हुन्छ ।

मेलोनोमा

मेलोनोमा क्यान्सर शरीरको कुनै पनि ठाउँमा हुन सक्छ । किनकि यो प्रायजसो शरीरको घामले नदेखिने अंगहरु जस्तै खुट्टाको नङ, औंला र पैतालामा धेरै हुन सक्छ । यो क्यान्सर लाग्ने सम्भावना कम हुने भए पनि यो अरु दुई क्यान्सर भन्दा निकै खतरनाक हुन्छ । यसमा किमोथेरापी गरेर उपचार गर्नुपर्ने हुन्छ । शरीरका अन्य अंगमा पनि छिटोछिटो फैलिने जोखिम हुन्छ ।

छालाको क्यान्सरको उपचार

छालाको क्यान्सर मलम, लेजर, किमोथेरापी र शल्यक्रियामार्फत उपचार गर्न सकिन्छ । यसका लागि पहिला छालाको क्यान्सर चिकित्सकको परामर्शमा बायोप्सी जाँच गराउनुपर्ने हुन्छ । यदि छालाको क्यान्सर भएको पत्ता लागेमा यसको उपचार रेडियोथेरापी तथा किमोथेरापीमार्फत पनि उपचार गरिन्छ । यसको समयमा नै रोग पहिचान भएमा पूर्ण रुपमा निको हुन्छ । तर फेरि आउने सम्भावना पनि उत्तिकै हुन्छ ।

बच्ने उपाय

घामको विकिरणबाट बच्ने, बाहिर जानु कम्तीमा १५ मिनेटअघि सनब्ल्क क्रिम लगाएर मात्र बाहिर निस्कने, बाहिर हिंड्दा पूरा शरीर ढाक्ने लुगा लगाउनुपर्छ । साथै छालामा कुनै पनि बदलाव देखिएमा तुरुन्तै चिकित्सकलाई जाँच गराइहाल्नुपर्छ । सकेसम्म समय-समयमा छालाको जाँच गराउनुपर्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर