साउन १ गतेखि लागू हुने बैंकहरूको यस्तोछ ब्याजदर
काठमाडौं । नेपाल बैंकर्स सङ्घको पहलमा लामो समयदेखि कायम बैंक ब्याजसम्बन्धी भद्र सहमति अन्त्य गर्ने निर्णय सँगै नेपालका वाणिज्य बैंकहरुले आ-आफ्नै ढङ्गले ब्याजदर तोकेका छन्। ब्याजदरमा कार्टेलिङ गरेको भन्ने आरोप खेपिरहेका थिए ।
अधिक निक्षेपको भारमा परेका सबै बैंकहरुले ब्याजदर घटाउँछन् भन्ने आम अनुमानविपरीत साउन १ गतेबाट केही बैंकले भने ब्याजदर बढाउने भएका छन् । आफ्नो तजबिजीमा ब्याजदर तोक्ने अधिकार पाएका बैंकको साउन १ गतेदेखि फरक फरक देखिने भएको छ । हाल सञ्चालनमा रहेका मध्ये कतिपय बैंकले भने आफ्नो ब्याजदर स्थिर नै राखेका छन् भने आधाभन्दा बढी बैंकले घटाएका छन् । यस क्रममा अप्रत्याशित रुपमा केही बैंकले भने ब्याजदर बढाएका छन्।
यसरी ब्याजदर बढाउनेमा नबिल बैंक, प्राइम कमर्सियल, एनएमबि र कुमारी बैंक रहेका छन्। नबिल बैंकले यसअघी कायम रहेको मुद्दती निक्षेपको ब्याज दर समान ९.९९ बाट १०.४९ प्रतिशत पुर्याएको छ। नेपाल राष्ट्र बैंकले १० प्रतिशत सम्म ब्याज घटबढ गर्न सक्ने अधिकार वाणिज्य बैंकहरुलाई दिएको छ । त्यसैगरी, प्राइम कमर्शियल बैंकले मुद्दतीमा बैंकले १०.९३ प्रतिशत सम्म ब्याज दिने घोषणा गरेको छ । एनएमबि बैंकले भने मुद्दतीमा फरक फरक अवधिको लागि फरक फरक ब्याज दर तोकेको छ। यो बैंकले कम्तीमा ९ देखि अधिकतम १०.९८ प्रतिशतसम्म ब्याज दिने घोषणा गरेको छ ।
त्यसो त नबिल बैंकले पनि अवधि हेरेर मुद्दतीको ब्याज फरक फरक राखेको छ । बचतमा भने सो बैंकले ५.९० देखि ७.९० प्रतिशतसम्म ब्याज दिने छ। प्राइमले बचतको ५.९३ देखि ७.९३ प्रतिशतसम्म ब्याज दिने घोषणा गरेको छ । एनएमबि बैंकले बचतमा ५.९८ देखी ७.९८ प्रतिशतसम्म ब्याज दिने भन्दै आफ्नो नयाँ ब्याजदर सार्वजनिक गरेको छ । यसरी हेर्दा बचतमा सर्वाधिक धेरै ब्याज दिने एनएमबि बैंक बनेको छ । उता कुमारी बैंकले भने मुद्दती निक्षेपमा अधिकतम १०.०१ प्रतिशत र न्यूनतम ९.९९ प्रतिशत ब्याज दिने जनाएको छ । यो बैंकले बचतमा ५.४ देखि ७.४ प्रतिशत ब्याज दिने उल्लेख गरेको छ ।
ब्याजदर सार्वजनिक गरेका १८ बैंकमध्ये १० वटा बैंकले घटाएका छन्। यसरी घटाउनेहरूमा नेपाल बैंक, कृषि विकास बैंक, राष्ट्रिय वाणिज्य बैंक, एभरेष्ट बैंक, स्ट्यान्ड चार्टर्ड बैंक, सिद्धार्थ बैंक, सानिमा बैंक, प्रभु बैंक, नेपाल एसबीआइ बैंक, माछापुच्छ्रे बैंक रहेका छन्।
आगामी महिनाको लागि ब्याजदर परिवर्तन नगरी स्थिर राख्ने बैंकहरूमा हिमालयन बैंक, ग्लोबल आइएमइ बैंक, लक्ष्मी सनराइज बैंक र सिटिजन्स बैंक रहेका छन् । ब्याजदर घटाएका मध्ये राष्ट्रिय वाणिज्य बैंक, प्रभु बैंक र एसबीआइ बैंकले मुद्दती निक्षेपमा क्रमश ८.९९ प्रतिशत, ८.९९ प्रतिशत र ९.१ प्रतिशत ब्याज दिने भएका छन् ।
त्यसैगरी, माछापुच्छ्रे र एभरेष्ट बैंकले समान ९ प्रतिशत कायम गर्दा स्ट्यान्ड चार्टर्डले भने ९.९५ प्रतिशत तोकेको छ ।सिद्धार्थ बैंकले ९.५ प्रतिशत कायम गर्दा सानिमा बैंकले ९.५२ प्रतिशत ब्याजदिने जनाएको छ । नेपाल बैंक र कृषि विकास बैंकले भने क्रमश ८.९९ प्रतिशत र ९.५१ प्रतिशतमा ब्याजदर झारेका छन् ।