वैदेशिक श्रमिकलाई फर्काइएकोमा विरोध प्रदर्शन

काठमाडौं । वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीका लागि हिँडेकालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयले फर्काएको विरोधमा प्रदर्शन गरिएको छ । अध्यागमन विभागअगाडि कालिकास्थानमा आइतबार नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले विरोध प्रदर्शन गरेको हो ।

वैदेशिक रोजगार ऐन २०६४ अनुसार सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरी संस्थागत रुपमा श्रम स्वीकृत लिएर वैदेशिक रोजगारीमा कुवेत, जोर्डनलगायतका विभिन्न देशमा जान लागेका कामदारहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको अध्यागमन कार्यालयले केही दिनदेखि बिनाकारण कामदारहरु फर्काइरहेको भन्दै आइतबार नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले विरोध प्रदर्शन गरेको हो ।

उनीहरुले अध्यागमनको बिना कारण विदेश जानबाट रोक्ने कदमले व्यवसाय गर्न समस्या हुने भन्दै विरोध गरेका थिए । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष राजेन्द्र भण्डारीले बिना कारण अध्यागमन विभागले कामदार विदेश जानबाट रोकेका कारण विरोध गर्नुपरेको बताए । उनले अध्यागमन विभागले नागरिकलाई दिएको दुःख र उनीहरुलाई जान नदिँदा भएको क्षतिपूर्ति नदिएसम्म आन्दोलन गर्ने चेतावनी दिए । उनले अध्यागमनले कामदारलाई विदेश जान नदिने हो भने व्यवसाय नै बन्द गर्ने चेतावनी दिए ।

“कुवेत, जोर्डनलगायतका देशमा नेपाली दाजुभाइ दिदिबहिनी गइरहनुभएको छ, उहाँहरुलाई बिना कारण अध्यागमनले फर्कायो, करिब १९० भन्दा बढीको सङ्ख्यामा फर्किसकेका छन् । त्यहाँ ठूलो रुपमा टिकट काटिएको, खर्च गरिएको हुन्छ, सबै प्रक्रिया पुर्‍याएर जाँदा अन्तिममा उहाँहरुलाई फर्काइन्छ, दुःख दिइन्छ, त्यसको विरुद्ध हामीले विरोध गरेका हौँ । हामीले शान्तिपूर्ण आन्दोलन शुरु गरेका छौँ, अध्यागमनले फर्काइरहन्छ भने हामी वैदेशिक रोजागारीमा पठाउने काम केही समयका लागि बन्द गर्नेछौँ । यसको जिम्मा लिएर क्षतिपूर्ति नदिएसम्म यहाँको महानिर्देशकले यसको नैतिक रुपमा जिम्मेवारी लिएर छानबिन गरेर कारबाही नगरेसम्म हामी बन्द गर्नेछौँ । कामदारको जुन क्षति भएको छ, त्यसको क्षतिपूर्ति व्यहोर्नुपर्छ”, उनले भने ।

यस्तै, आन्दोलनकारीहरुले अध्यागमनमा हुने अनियमितता छानबिन गर्न, अध्यागमनबाट श्रमिक फर्काउने कार्य बन्द गर्न, वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दुःख दिने काम बन्द गर्न, भिजिट भिसामा हुने सेटिङ बन्द गर्न, अध्यागमनको ज्यादती बन्द गर्न, अध्यागमनका महानिर्देशकको राजीनामाको मागलगायतका प्लेकार्ड बोकेर नारा लगाउँदै विरोध प्रदर्शन गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर