सत्ता गठबन्धनद्वारा संविधानको उल्लंघन : एमाले

काठमाडौं । नेकपा एमालेले वर्तमान सत्ता गठबन्धनले संविधानको उल्लङ्घन गरिरहेको आरोप लगाएको छ । पार्टी मुख्यालय च्यासल ललितपुरमा शनिबार बसेको बैठकले संवैधानिक संस्थाहरुमा हस्तक्षेप गरी लोकतन्त्रलाई खल्बल्याउने काम पनि सरकारले गरिरहेको टिप्पणी गरेको छ । कोशी प्रदेशसभामा सत्ता गठबन्धनले संविधानविरोधी क्रियाकलाप गरेको ठहर बैठकले गरेको पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

सरकार गठन गर्ने र हटाउने सन्दर्भमा सभामुख स्वयं संलग्न हुने कुरा नेपालको संविधान, नियन्त्रण र सन्तुलनका विश्वव्यापी मूल्य मान्यता एवं आफ्नै लोकतान्त्रिक र संसदीय अभ्यासमाथिको प्रहार भएको ठहर बैठकले गरेको उनले बताए । असंवैधानिक ढंगले गठन गरिएको कोशी प्रदेश सरकार भङ्ग गरी सरकार गठनको संविधानसम्मत प्रक्रिया तत्काल आरम्भ गर्न एमालेले माग गरेको उनले बताए । देशभर फैलिएको लम्पी स्किनबाट गाईवस्तुको ज्यान गएकाले त्यसको नियन्त्रणमा ध्यान दिन एमालेले सरकारसँग आग्रह गरेको छ ।

बैठकले बागमती प्रदेशको इन्चार्जमा गुरु बराललाई जिम्मेवारी तोकेको उपमहासचिव ज्ञवालीले बताए ।
किसानले सुलभ रुपमा रासायनिक मल पाउने व्यवस्था गर्न पनि एमालेले सरकारको ध्यानाकर्षण गराएको छ । मिटरब्याजसम्बन्धी विधेयकलाई लिएर एमालेप्रति नकारात्मक भ्रम फैलाइएकोप्रति आपत्ति जनाउँदै विधेयक पास गर्न तत्काल आवश्यक कानूनी प्रवन्ध गर्न एमालेले माग गरेको छ ।

प्राकृतिक विपत्तिमा परेका नागरिकको राहत र उद्धारका लागि तत्काल काममा खटिन पार्टीआबद्ध युवा, विद्यार्थी, भूपूसैनिक, प्रहरीसहित पार्टी पङ्तिलाई एमालेले आह्वान गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर