कांग्रेस राजनीति : कहाँसम्म पुग्लान् गगन र विश्वप्रकाश……

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले झण्डै एक वर्षपछि असार २७ गतेका लागि केन्द्रीय समिति बैठक बोलाएका थिए । केन्द्रीय समिति बैठक नै बसाल्न नखोजेका देउवालाई प्रधानमन्त्रीपत्नी सीता दाहालको निधनका कारण सो दिन बैठक स्थगित सहज भयो । स्थगित बैठक साउन २ गतेका लागि बोलाइएको छ । तर सो दिन पनि बैठक हुने नहुने इतर पक्ष सशंकित छन् ।

नेपाली कांग्रेसको झण्डै एक वर्षपछि साउन २ गते केन्द्रीय समितिको बैठक बोलाइएको छ । यसअघि असार २७ गतेका लागि बोलाइएको बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डपत्नी सीताको निधनका कारण स्थगित गरि २ गतेका लागि सारिएको छ । पार्टी सभापति देउवाविरुद्ध कडा रुपमा प्रस्तुत हुने इतर पक्षले तयारी गरेपछि देउवालाई तनाव छ । आफू अनुकुलको निर्णय गर्दै आएका देउवालाई यसपाली कुनै पनि हालतका कमजोर बनाउने रणनीति इतर पक्षको छ ।

पार्टी नेता कार्यकर्ताहरु नक्कली भुटानी शरणार्थी प्रकरण लगायतका ठूला भ्रष्टाचार काण्डमा मुछिएको भन्दै इतर पक्षले सशक्त आवाज उठाउने तयारी गरिरहँदा देउवा भने भ्रष्टाचारका विषयलाई बैठकको एजेण्डा नै नबनाउने योजनामा छन् । कांग्रेस युवा नेता कार्यकर्ता देउवाको कार्यशैलीप्रति रुष्ट भइरहँदा कांग्रेस राजनीतिक पेचिलो बन्दै गएको छ । २०७८ पुसमा पार्टीको चौधौं महाधिवेशनबाट देउवा सभापति पुनःनिर्वाचित भए पनि देउवाको कार्यशैली नबदलिएको इतर पक्षको आरोप छ ।

त्यसैले देउवालाई संसदीय दलको नेताबाटै हटाउने कसरतमा महामन्त्री गगन थापा लागिरहेका छन् । कांग्रेस सभापति देउवा एमाले क्याम्पमा गइसकेको माओवादीलाई समेत आफ्नो पक्षमा लिएर पार्टीलाई सरकारमा पु¥याएका छन् भने पार्टीबाटै राष्ट्रपति बनाउन सफल भए । तर देउवा भने कम्युनिस्ट पार्टीको पछि लागेर पार्टी कमजोर बनाउने इतर पक्षको आरोप छ ।

कांग्रेसमा नेतृत्व परिवर्तनको बहस सँगै नीति महाधिवेशनको माग उठिरहेको छ । त्यसैले आगामी वैठकमा पार्टीको कार्ययोजना र कार्यतालिका प्रस्तुत हुनुका साथै नीति महाधिवेशनको मिति तय हुने कांग्रेस महामन्त्री थापा बताउँछन् । नोपली कांग्रेसको विधानमा नै दलको नेता परिवर्तन गर्न सकिने व्यवस्था भएको थापाको भनाइ छ । बहुमतले दलको नेता हटाउन सकिने ब्यवस्था भएकाले कांग्रेस महामन्त्री थापा आफ्नो पक्षमा बहुमत जुटाउने कसरतमै छन् ।

पार्टी सभापतिको कार्यशैलीको विरोध गर्दै नेता कार्यकर्ता भेटघाटमा लागिरहेका थापाले अर्का महामन्त्री विश्वप्रकाश शर्माको साथ लिएर केही दिनअघि मात्रै जिल्ला सभापतिहरुको काठमाडौंमै भेला गरेका थिए । कांग्रेसकै तेस्रो पुस्ताका युवाहरुले कांग्रेस रुपान्तरण अभियान भन्दै देशब्यापी कार्यक्रम गर्दै हिँडेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर