प्रचण्डलाई सीमा नाघेर नबोल्न माधव नेपालको चेतावनी

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले ललिता निवास जग्गा हिनामिना प्रकरणमा उचित न्याय हुनुपर्ने बताएका छन्।

नेपाल पत्रकार महासंघ पाल्पा शाखाले मंगलबार तानसेनमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले भने–‘मेरो नाम पनि जोडिएको छ। उचित छानबिन गरी उचित न्याय हुनुपर्छ।’

“यस काण्डमा मेरो पनि नाम जोडिएको छ। तर म आत्तिएको छैन। नाम जोडियो भन्दैमा कोही आत्तिनु पर्दैन। न्यायसंगत ढंगले छानबिन हुन्छ भन्नेमा मलाई विश्वास छ । मसहित पूर्वप्रधानमन्त्रीहरू कृष्ण भट्टराई, शेरबहादुर देउवा, केपी ओली, पुष्पकमल दाहाललगायत धेरै नेताले पटकपटक सरकारको नेतृत्व गरेका छन्। सबैको नाम जोडिने कुरालाई गम्भीर रूपमा लिएको छैन “, उनले भने।

“जो जसले सरकारको नेतृत्व गरेको छ। उनीहरूको नाम जोडिनु स्वभाविक हो। मातहतमा रहेका सबै एउटै नियतका हुँदैनन। जो दोषी छ। त्यसलाई कारबाही हुनुपर्छ । तर दोषी र निर्दोषलाई एउटै घानमा राख्नु हुँदैन। असल र गलत नियत भएकालाई पनि एउटै घानमा राख्नु हुँदैन। काम गर्ने र काम नगर्नेलाई पनि एउटै रूपबाट बुझ्न नहुने र देशैभरिका सरकारी जग्गाको अनियमितताबारे छानबिन गर्नु पर्दछ”उनले भने ।

सीमा नाघेर नबोल्न उनले अन्य नेतालाई सुझाए। प्रधानमन्त्री प्रचण्डलाई लक्षित गर्दै उनले भने, ‘हाड नभएको जिब्रोले झुक्याउँछ। बोल्दा ख्याल गर्नुपर्छ।’ जिब्रो फ्याट्ट बोल्छ र हाडभित्र लुक्न गइहाल्छ। अनि हाडले घेरिएको कपाल दुख्न थाल्छ। स्पष्टीकरण र जवाफ दिंदा दिंदै झन कपाल दुख्छ। जिब्रो आनन्दले बसेको हुन्छ। अनावश्यक टाउको दुखाउने गरी अभिव्यक्ति दिने कुरामा आफू सचेत रहेको उनले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर